
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। प्रचण्ड–ओलीबीचको भेटमा प्रधानन्त्रीको भारत भ्रमणका विषयमा छलफल भइरहेको छ।
आज अपरान्ह प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदैछन्। तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्रीसहित पाँच सदस्यीय प्रतिनिधिमण्डलको टोली नयाँ दिल्ली प्रस्थान गर्न लागेको हो।
प्रधानमन्त्रीका साथ स्वकीय सचिव समेत रहेकी उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहेका छन्।
प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ।भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ। प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ।
प्रधानमन्त्री प्रचण्डले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए। यसअघि प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए।