News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक २ दिनका लागि स्थगित 
फाइल तस्बिर

काठमाडौं— प्रतिनिधि सभाको बैठक २ दिनका लागि स्थगित भएको छ। 

आजका लागि बोलाइएको बैठक सूचना टाँसेर मंगलबारसम्मका लागि स्थगित गरिएको हो। 

सभामुख निवास बालुवाटारमा आइतबार बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको सभामुखको सचिवालयले जनाएको छ। 

आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो। अब जेठ २९ गते मंगलबारदेखि नियमित छलफल हुनेछ। 

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको हो।

सभामुख देवराज घिमिरेले आह्वान गरेको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित रहेका थिए।

बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी रहेका थिए। 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १०:१२
Weather Update