News Griha :: न्यूजगृह
कोशी सरकारविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं— कोशी प्रदेश सरकारविरुद्धको रिट आइतबार पूर्ण इजलासमा सुनुवाइ हुँदै छ। सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधबार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो।

एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ।

कोशी प्रदेशका संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई संसद्को सङ्कल्प प्रस्ताव, मुख्यमन्त्री बनाउँदा समर्थन दिएका एमालेका सांसदहरूले समर्थन नरहेको भनी प्रदेश प्रमुखलाई गराएको जानकारी र विश्वासको मत नलिएको आधारमा हटाइएको थियो।

उनलाई हटाएर नयाँ मुख्यमन्त्रीको रूपमा एमालेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री संविधानको धारा १६८ (५) अनुसार नै शपथ गराइएको थियो। त्यसविरुद्ध कार्कीले हिक्मत कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै दाबी गर्दै आफू मुख्यमन्त्रीमा फर्कनुपर्ने आदेशको माग गरेका छन्।

आजदेखि हुने अन्तिम सुनुवाइले कार्कीको पक्षमा फैसला सुनाए उनी मुख्यमन्त्रीमा फर्कने छन् भने रिट खारेज गरेमा हिम्मतकुमार कार्की नै मुख्यमन्त्रीमा निरन्तर हुने छन्।  

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०८:५९
Weather Update