
काठमाडौं— हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। आइतबार बिहान कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा दिउँसो हावाहुरीको पनि सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहनेछ। कोशी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा राति मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।













