काठमाडौं— आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा करिब ५९ दशमलव ६६ प्रतिशत मतदान भएको छ । बारा–२ मा ६१, चितवन–६० र तनहुँ–१ मा ५१.७० प्रतिशत मतदान भएको हो । तीनै क्षेत्रको मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य हुनेछ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार बारा निर्वाचन क्षेत्र नं २ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, कलैयामा साँझ ८ बजेभित्र, चितवन क्षेत्र नं २ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य सङ्घको हल, भरतपुरमा राति ११ बजेभित्र र तनहुँ निर्वाचन क्षेत्र नं १ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा राति ११ बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइको छ ।
मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनाबारे आइतबार आयोगले दिएको विशेष निर्देशनबमोजिम दल तथा उम्मेदवारसँग सहमति जुटाई मंगलबारभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिनेछ ।
निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सृर्जना भएमा निर्वाचन विवाद (सुनुवाइ र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिए ।













