News Griha :: न्यूजगृह
प्रतिनिधि सभामा आजदेखि बजेटमाथि मन्त्रालयगत छलफल

काठमाडौं— प्रतिनिधि सभाको बैठकमा आजदेखि ६ दिन लगातार बजेटमाथि मन्त्रालयगत शीर्षकमा छलफल हुने भएको छ। जेठ ३२ गतेसम्म ६ दिन लगातार बस्ने प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत शीर्षकमा छलफल सक्ने कार्यतालिका रहेको छ।

आज  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तीन सहित पाँच सांसदले छलफल गरिने चार मन्त्रालयको आगामी बजेट घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने भएका छन्। 

कांग्रेसका सहमहामन्त्रीसमेत रहेका बद्री पाण्डेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कांग्रेसका अर्का सांसद पुष्पबहादुर शाहले युवा तथा खेलकुद मन्त्रालय र रमा कोइराला पौड्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च घटाइ एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव गर्ने संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

यसैगरी स्वतन्त्र सांसद अमरेशकुमार सिंहले वन तथा वातावरण मन्त्रालयसहित चारै मन्त्रालयको खर्च एक रुपैयाँ गरियोस् भन्दै प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन्। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि चारै मन्त्रालयको खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन्।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०६:००
Weather Update