News Griha :: न्यूजगृह
भारतीय राष्ट्रिय कांग्रेस संसदीय दलको अध्यक्षमा सोनिया गान्धी सर्वसम्मत 

काठमाडौं — भारतीय राष्ट्रिय कांग्रेसको संसदीय दलको अध्यक्षमा सोनिया गान्धी सर्वसम्मत चयन भएकी छन्। कांग्रेस नेता तथा सांसद प्रमोद तिवारीले एएनआईसँग भने, ‘सोनिया गान्धीलाई कांग्रेस संसदीय दलको अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ।’

नयाँ दिल्लीमा शनिबार बसेको संसदीय दलको बैठकमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले संसदीय दलको अध्यक्षका लागि सोनियाको नाम प्रस्ताव गरेका थिए। उनको प्रस्तावमा नेता गौरव गोगोई, तारिक अनवर र के सुधाकरनले प्रस्तावको समर्थन गरेका हुन्। 

कांग्रेस संसदीय दलको बैठक नयाँदिल्लीस्थित संसद्को केन्द्रीय हलमा बसेको थियो। ७७ वर्षीया सोनिया राज्यसभा सदस्य हुन्। 

त्यस्तै, कांग्रेस कार्यसमितिले सांसद राहुल गान्धीलाई लोकसभामा विपक्षी दलको नेतामा नियुक्त गर्नुपर्ने प्रस्ताव पारित गरेको छ। राहुल गान्धीले उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाडबाट लोकसभा चुनाव जितेका हुन्। 

कांग्रेस लगायतका विपक्षी दलहरूको समूह, भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया)ले देशव्यापी गठबन्धन बनाएर भारतीय जनता पार्टी (भाजपा)लाई लोक सभामा एकल बहुमत प्राप्त गर्नबाट रोक्न सफल भएका छन्। यद्यपि, भाजपा नेतृत्वको गठबन्धन राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ।

सन् २०२४ को लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ तर यो सङ्ख्या भाजपाको सरकार गठनका लागि एकल बहुमतको लागि संसद्मा आवश्यक सदस्य सङ्ख्याभन्दा ३२ सदस्यले कमी हो। 

अर्कोतर्फ कांग्रेसले ९९ सिट जितेर बलियो सुधार गरेको छ। भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीएले २९३ सिट जितेको छ भने विपक्षी गठबन्धनले २३० सिट पार गरेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  २१:४५
Weather Update