कम्युनिष्ट पार्टीमा अवसरवाद मौलाएको झलनाथको आरोप

मकवानपुर— नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको टिप्पणी गरेका छन्।
एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको शनिबारदेखि सुरु भएको नगर अधिवेशन उद्घाटन गर्दै नेता खनालले समाजवादको ‘एजेण्डा’ बिना कम्युनिष्ट पार्टीहरू टिक्न नसक्ने बताए।
नेता खनालले समाजवादी क्रान्ति अहिलेको आवश्यकता भएको बताउँदै देशको समानुपातिक विकासका लागी समाजवाद अपरिहार्य रहेको बताए। ‘अब सबै राजनीतिक दलले समाजवादलाई मुख्य विषय बनाउनुपर्छ,’ उनले भने।
समाजवादले आम नागरिकका समस्या र गुनासो सम्बोधन गर्ने तर्क गर्दै उनले सङ्घीय शासन व्यवस्थामा तीनवटै तहका सरकारले समाजवादी कार्यक्रमहरू ल्याएर नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१ १६:४४