एमालेको ६३ जिल्लामा अधिवेशन सकियो

काठमाडौं— सत्तारुढ नेकपा एमाले पार्टीको हालसम्म ६३ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएका छन्।
जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको थियो।
एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले इलाममा हालै उपनिर्वाचन सम्पन्न भएकाले अधिवेशन नभएको, तेह्रथुममा आन्तरिक विवाद भई सङ्गठन विभागले अध्ययन गरिरहेको र मोरङमा आयोजक कमिटी भर्खरै गठन गरिएको जानकारी दिए।
शुक्रबार मात्रै रूपन्देही र नुवाकोटको जिल्ला अधिवेशन सम्पन्न भएको छ। मधेस प्रदेशको सिराहा, सप्तरी, धनुषाको अधिवेशनको मिति तोक्न बाँकी छ।
गण्डकीको मनाङ, कर्णालीको डोल्पा र सुदूरपश्चिमको अछाम, बझाङ र डोटी जिल्ला अधिवेशनको मिति तोक्न बाँकी रहेको एमालेले जनाएको छ। रासस
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१ १४:३३