
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जाँदैछन्।
प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली जान लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उनीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। ‘प्रधानमन्त्रीद्वयबीच सङ्क्षिप्त भेटवार्ता हुनेछ,’ स्रोतले भन्यो।
प्रधानमन्त्री प्रचण्डका साथ उनकी छोरी गङ्गा दाहाल, कानुनमन्त्री पदम गिरी लगायत नयाँदिल्ली जानेछन्। प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्कने कार्यक्रम छ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो। प्रधानमन्त्री प्रचण्डले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गरेका थिए।
यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला सहभागी भएका थिए। त्यसबेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी भएका हुन्।
गत बुधबार प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता भएको थियो। त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो। प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए।
भारतमा सात चरणमा भएको लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) २९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले २४० सिट जितेको छ।
एनडीएको समर्थनमा भारतीय जनता पार्टीका नेता मोदी प्रधानमन्त्रीमा शुक्रबार नियुक्त भएका हुन्। उनले आइतबार साँझ शपथ लिँदैछन्। राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ।
प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै भारत सरकारले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङघे, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ।