News Griha :: न्यूजगृह
नेपाली कांग्रेस ०८४ सम्म प्रतिपक्ष मै रहने

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस २०८४ सम्म प्रतिपक्षमा बस्ने बताएका छन्।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका– ३ वडा कार्यसमितिले शनिबार आयोजना गरेको अन्तरक्रियामा उनले अर्को निर्वाचनसम्म कांग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताएका हुन्।

महामन्त्री थापाले  २०७९ को निर्वाचनमा पाँच वर्षका लागि पाँच दलबीच गठबन्धन भए पनि चाहनाले नभई परिस्थितिले गठबन्धन टुटेकाले अब प्रतिपक्षमा बसेर सङ्गठन निर्माणको कामलाई अगाडि बढाउने बताए। तीन वर्षको समय पार्टीलाई पुननिर्माण र बलियो बनाउने समय भएको उनको भनाइ छ।

‘कांग्रेसको सरकार बनाउने र गिराउने चाहना छैन, कांग्रेस जनताका विषयलाई लिएर अगाडि बढ्छ, सरकार र शक्तिको आडमा अदालत र संवैधानिक आयोगलाई प्रभावमा पारेर कसैले जनविरोधी काम गर्न पाइँदैन,’ उनले भने।

 महामन्त्री थापाले पछिल्लो समय राष्ट्रिय अर्थतन्त्र कमजोर भएकाले त्यसलाई ठीक गर्न कांग्रेसले पहलकदमी लिने बताए। उनले कांग्रेसले तीन सय ३२ स्थानीय तहमा विजय हासिल गरेर कतिपय स्थानीय तहमा राम्रा काम गरे पनि त्यसको प्रचारप्रसार हुन नसकेको उल्लेख गरे।

महामन्त्री थापाले घरघरमा पुगेर पार्टी र आगामी कार्यदिशाका बारेमा छलफल गर्नुपर्नेबेला आएको बताए। उनले अब बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले महासमितिको प्रस्ताव पारित गरेर अगाडि बढ्ने उल्लेख गरे। आगामी बैठकले पार्टीका भ्रातृ संस्थाका बारेमा निर्णय लिने उनले जानकारी दिए।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १२:०४
Weather Update