News Griha :: न्यूजगृह
सहकारी बचत ठगीसम्बन्धी संसदीय छानबिन समितिले कार्यदल सदस्यसँग सुझाव लिने

काठमाडौं— सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले कार्यादेश बनाउन गठित कार्यदलका सदस्यहरूसँग सुझाव लिने भएको छ।

समितिको दोस्रोपटक बसेको शुक्रबारको बैठकले कार्यदलमा रहेका सदस्यहरूसँग असार २ मा छलफल गर्ने निर्णय गरेको हो।

कार्यादेशको भाव थप बुझ्नका लागि त्यो बनाउन संलग्न कार्यदलका सदस्यहरूका कुरा सुन्ने निर्णय भएको कांग्रेस सहमहामन्त्री एवं समिति सदस्य बद्री पाण्डेले जानकारी गराए ।

‘समिति बन्न र कार्यादेश बनाउन धेरै समय लागेको थियो। कार्यादेशको स्पिरिटको बारेमा उहाँहरूलाई बोलाएर थप स्पष्ट भएर कार्यविधि पारित गर्ने कुरा भएको छ,’ पाण्डेले भने। कार्यविधिलाई थप समृद्ध बनाउनका लागि आज पारित नगरिएको समिति सदस्य उनको भनाई छ।

समितिले तीन महिनामा प्रतिवेदन बुझाउनुपर्ने छ। जेठ १५ मा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति भएर सात सदस्यीय संसदीय छानबिन विशेष समिति बनेको हो। जसमा एमाले सांसद सूर्य थापा संयोजक बनेका छन् ।

सदस्यमा कांग्रेसबाट सहमहामन्त्री पाण्डे, ईश्वरी न्यौपाने, एमालेबाट सदस्यमा सरिता भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १८:४६
Weather Update