सहकारी बचत ठगीसम्बन्धी संसदीय छानबिन समितिको बैठक जारी

काठमाडौं— सहकारी संस्थाहरूमा भएको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि गठित संसदीय विशेष समितिको बैठक जारी छ। संसद् भवन बानेश्वरस्थित शंकर हलमा समितिको बैठक बसिरहेको हो।
एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि काम थाल्न कार्यालय पनि व्यवस्थापन भइसकेको छ।
समितिले सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरीवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने कार्यादेश पाएको छ।
समितिका सभापति एमालेका सांसद थापा छन् भने सदस्यहरूमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान छन्।
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१ १८:०८