News Griha :: न्यूजगृह
गण्डकीका मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने 

काठमाडौं— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी जेठ २८ गते विश्वासको मत लिने भएका छन्। 

सर्वोच्च अदालतको परमादेशबाट गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले जेठ २८ गते सोमबार विश्वासको मत लिने तयारी गरेका हुन्। 

उनले प्रदेश सभाबाट विश्वासको मत लिइसकेपछि मात्रै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेका हुन्। 

अदालतको आदेशबाट मुख्यमन्त्री नियुक्त भए पनि विश्वासको मत पाउन सक्ने आधार नभएपछि उनी बिहीबार काठमाडौं आएका थिए। शीर्ष नेताहरुसँग छलफल गरेर फर्किएपछि विश्वासको मत लिने तयारी गरेका हुन्। 

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ, तर कांग्रेससँग २७ जना मात्र सांसद छन्। विश्वासको मतका लागि पाण्डेलाई अन्य दलबाट ४ जना सांसदको समर्थन आवश्यक पर्छ।

गण्डकीमा राप्रपाका दुई सांसद छन्। यस्तै, स्वतन्त्र दिपक मनाङे र डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालाई समेत तानेर ३१ मत पुर्याउने पाण्डेको रणनीति रहेको छ। 

त्यसो त कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई गण्डकीमा विश्वासको मत दिन आग्रह गरेका छन्। त्यस विषयमा भने राप्रपाले प्रतिक्रिया जनाएको छैन।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १७:५९
Weather Update