News Griha :: न्यूजगृह
गाँजाको विषय समितिमा पुग्यो, गृहमन्त्री भन्छन्– एक महिनाभित्र नियमावली बनाउँछौँ

काठमाडौं— उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधिजन्य उपयोगका लागि गाँजाको व्यवसायिक खेती सम्बन्धी अध्ययन सरकारले एक महिनाभित्रै नियमावली ल्याएर गर्ने बताएका छन्। 

सिंहदरबारमा शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा गाँजाखेतीका विषयमा छलफल भएको हो।

औषधिजन्य प्रयोजनका लागि व्यवसायिक उत्पादन, प्रशोधन तथा बिक्री वितरण लगायतका विषयमा छलफल गर्न विभिन्न मन्त्रालयका प्रतिनिधि सहभागी भए। गृहमन्त्री लामछिानेले गाँजाको औषधिजन्य उपयोगका लागि सरकारले नियम बनाउने विषय बजेटमा स्पष्ट भइसकेको भन्दै लगभग एक महिनाभित्र नियमावली ल्याएर नै अध्ययन गर्ने प्रष्ट पारे। 

‘औषधीय र औद्योगिक प्रयोजनका लागि हामीले गाँजासम्बन्धी कानुनी रुपमा नियमावली बनाएर अध्ययन गर्न सक्ने कुरालाई खोल्ने कुरामा हामी स्पष्ट छौँ। सरकारले नीति कार्यक्रम र बजेटमार्फत पनि भनिसकेको कुरा हो,’ उनले भने, ‘यसैको सुनिश्चितता नै आज यहाँको प्रतिबद्धता हो। यसको नियमावली बनाएर अध्ययन गरी खुला गर्ने प्रतिबद्धता गरेका छौँ।’ 

त्यस्तै उनले समितिको बैठक पक्ष र विपक्ष नरहेको भन्दै कतिपय ठाउँमा सबै एकै ठाउँमा उभिनसक्ने ठाउँ पनि रहेको धारणा राखे। 

उनले भने, ‘सभापतिज्यू कतिपय ठाउँमा त हामी एकै ठाउँमा उभिनसक्ने ठाउँ पनि रहेछ नि। भनिन्छ नि, सबै एकै ठाउँमा उभिएको जस्तो समितिको बैठक यहाँ पक्ष र विपक्ष रहेन। गजब लाग्यो, यो आफैमा एउटा महत्वपूर्ण कुरा हो।’

त्यस्तै, बैठकमा बोल्दै अर्थमन्त्री वर्षमान पुनले गाँजाले बनेको झोला बोकेर आफूले बजेट प्रस्तुत गरेको बताए। 

गाँजाको उत्पादन गाउँगाउँमा भइरहेको बताउँदै उनले अप्रत्यक्ष रूपमा खेती हुनु सामान्यजस्तो रहेको भन्दै दाना उत्पादन, रेसा उत्पादन भइरहेको भेटिने गरेको बताए। 

उनले भने, ‘नेपाली उत्पादनको ब्याग भनेर बजेटको ब्याग नै गाँजाको हो। कसले उत्पादन गर्‍यो थाहा थिएन। गाँजाको झोला बोकेर बजेट प्रस्तुत गरियो। अनुसन्धानका लागि गाँजा तत्काल खुला गरौँ। धेरै डराउनुपर्दैन, अरू उत्पादनलाई विस्तारै कानुनी व्यवस्था गर्दै जाउँला।’

गाँजालाई वैधानिकता दिन कानुनी रुपमा झन्झट भइरहेको बताउँदै सबै मिलेर गाँठो खोल्नुपर्ने उनको भनाइ थियो। 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १६:५२
Weather Update