
काठमाडौं— सरकारले राजनीतिक समीकरण फेरिँदा राजदूत फिर्ता बोलाउने विषय यसअघिकै प्रचलनको निरन्तरता रहेको स्पष्ट पारेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सो कुरा बताएकी हुन्।
त्यस्तै प्रधानमन्त्री भारत भ्रमणमा जाने विषय र राजदूत फिर्ता बोलाउने विषय एक आपसमा नजोडिएको बताइन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसहित विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
‘११ देशका राजदूत फिर्ता बोलाउने निर्णय र प्रधानमन्त्री भारत जाने विषय जोडिएको छैन। विगतमा पनि कतिपय समीकरण फेरिदा प्रचलनकै रूपमा राजदूतहरू फिर्ता बोलाउने कुरा स्थापित भयो यो ठिक बेठिक के हो भनेर समीक्षाको विषय हुनसक्छ। तर प्रचलनकै रूपमा स्थापित भएको विषय हो यो,’ उनले भनिन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार भारतको भ्रमणमा जाँदैछन्। भारतको हालै सम्पन्न निर्वाचनबाट राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को समर्थनमा नरेन्द्र मोदी प्रधानमन्त्री बन्दैछन्। तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका मोदीको शपथग्रहणमा सरिक हुन प्रधानमन्त्री प्रचण्ड भारत जान लागेका हुन्। तर प्रधानमन्त्रीको भारत भ्रमणको सम्मुखमा राजदूत फिर्ता बोलाइएको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ।