
काठमाडौं—मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पदभार ग्रहण गरेका छन्।
आज मुख्यमन्त्री नियुक्त भइ पद तथा गोपनियताको शपथग्रहणपछि मुख्यमन्त्री सिंहले जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।
उनले पदभार ग्रहण गर्दै विभिन्न ८ योजना अघि सारेका छन्। उनले मधेसका १३६ वटै पालिकाका बाँझो जग्गालाई उपयोग गरी नमूना कृषि विकास मोडल लागु गर्ने बताए।
त्यस्तै मधेसका प्रत्येक जिल्लामा नमुनाको रूपमा एउटा ठूला शैक्षिक पार्क तयार गर्नेदेखि खेल क्षेत्रलाई गतिशील बनाउनका लागि प्रदेश गौरवका आयोजनाको रूपमा रंगशाला निर्माण गर्ने र खेलाडीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउनेसम्मका योजना अघि सारेका हुन्।
उनले मधेस प्रदेशमा कार्यरत पत्रकारहरुको दुर्घटना बीमाको व्यवस्था गर्ने समेत आफ्नो योजनामा उल्लेख गरेका छन्।
यस्ता छन् मुख्यमन्त्री सिंहले अघि सारेका योजनाहरु:
१. मधेस प्रदेशको १३६ वटै पालिकाका बाँझो जग्गालाई उपयोग गरी नमूना कृषि विकास मोडल लागु गर्न कृषि समूह सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने।
२. मधेस प्रदेशका प्रत्येक जिल्लामा नमुनाको रूपमा एउटा ठूला शैक्षिक पार्क तयार पार्ने।
३. मधेस प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वसनीय बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने।
४. वैदेशिक रोजगारबाट सिप सिकेर फर्केका जनशक्तिका लागि श्रम बैंकको रूपमा परिचालन गर्ने। सिपलाई श्रमसँग जोड्ने कार्यक्रम ल्याउने।
५. दिगो विकासको योजना तयार गरी देश वा विदेशका लगानी आकर्षण गर्न मधेश प्रदेश लगानी सम्मेलन गर्ने।
६. मधेसमा सुशासनको जग स्थापित गर्न खोजमूलक पत्रकारिता प्रवर्द्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदारी कार्यक्रम सञ्चालन गर्ने।
७. मधेसमा दर्ता भएका मिडियामा कार्यरत पत्रकारहरूको दुर्घटना बीमा गर्ने।
८. मधेसका खेल क्षेत्रलाई गतिशील बनाउनका लागि प्रदेश गौरवका आयोजनाको रूपमा रंगशाला निर्माण गर्ने र खेलाडीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने।