News Griha :: न्यूजगृह
प्रधानमन्त्रीले गरे ‘मेयर्स फोरम’ का पदाधिकारीहरुसँग छलफल, गएनन् बालेन 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकाका नगरपालिकाहरुको साझा मञ्च ‘मेयर्स फोरम’ का पदाधिकारीहरुसँग छलफल गरेका छन्। 

शुक्रबार दिउँसो प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा संघीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा छलफल गरेका हुन्। 

तर उक्त छलफलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भने अनुपस्थित रहे। केन्द्र सरकारको कामकारबाहीसँग निरन्तर आलोचना गर्दै आएका बालेन प्रधानमन्त्रीले बोलाएको बैठकमा समेत नगएका हुन्। त्यसो त यसअघिका मेयर्स फोरमका बैठकहरु समेत बालेनले बहिस्कार गर्दै आएका थिए। 

आजको छलफलमा प्रधानमन्त्रीले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराएका छन्।

छलफलका क्रममा प्रधानमन्त्रीले प्रचण्डले भने, ‘तपाईँहरूको फोरमले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी कामको समन्वय सङ्घीय सरकारले गरोस् भन्ने सिफारिस गरेको छ। सोहीअनुसार सरकारले लगानी बोर्डलाई यस सम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशित गरेको छ। लगानी बोर्डको बैठकमा समेत यस सम्बन्धी छलफल भई कार्यान्वयनमा अगाडि बढ्ने निर्णय भएको छ। अब यो काम तीव्रतामा अगाडि बढ्छ।’

आजको छलफलमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल लगायत काठमाडौं उपत्यकाका तीनै जिल्लाका नगरपालिकाका प्रमुख र उपप्रमुख लगायत पदाधिकारीहरुको उपस्थिती रहेको थियो। 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १५:२४
Weather Update