-1717746826.jpg)
काठमाडौं— मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहको शपथग्रहणसँगै नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पनि शपथग्रहण गरेका छन्।
आज प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। केहीबेरअघि मुख्यमन्त्री सिंहले शपथग्रहण गरेपछि नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पनि शपथग्रहण गरेका हुन्।
नवगठित मन्त्रिमण्डल अनुसार नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पुर्वाधार विकास, राजकुमार लेखी शिक्षा तथा संस्कृति, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या र प्रमोद जयसवाल खेलकुद तथा समाजकल्याण मन्त्री नियुक्त भएका छन्।
त्यस्तै एमालेका तर्फबाट २ जना राज्यमन्त्री समेत नियुक्त गरिएको छ। एमाले प्रदेश सभा सदस्य शारदा देवी थापा शिक्षा र केशव राय स्वास्थ्य राज्यमन्त्री बनेका हुन्।
त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट संसदीय दलका नेता भरतप्रसाद साह अर्थमन्त्री बनेका छन् भने युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री नियुक्त भएका छन्।
त्यसैगरी नेपाल संघीय समाजवादी पार्टीकी एकल सांसद रहेकी विमला अन्सारी गृह, सञ्चार तथा कानुनमन्त्री र नागरिक उन्मुक्ती पार्टीकी उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बनेकी छन्।
त्यस्तै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने भूमी व्यवस्था कृषि तथा सहकारीमन्त्री र बेची लुंगेली उर्जा सिँचाई तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै जनमत पार्टीकी रञ्जु मण्डल खंग बिना विभागीय राज्यमन्त्री नियक्त भएकी हुन्।
नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई प्रदेश प्रमुख र राज्यमन्त्रीलाई मुख्यमन्त्री सिंहले पद तथा गोपनियताको शपथग्रहण गराएका हुन्।
सिंहले आजै आफ्नो पार्टी जनमतसहित एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
यसअघिका मुख्यमन्त्री जसपा नेपालका सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि मधेसमा नयाँ सरकार बनेको हो।