News Griha :: न्यूजगृह
मधेस प्रदेशका मुख्यमन्त्रीको शपथ १२ बजे हुने 

काठमाडौं— मधेस प्रदेशका मुख्यमन्त्रीको शपथग्रहणको तयारी गरिएको छ। 

मधेसको मुख्यमन्त्रीमा  जनमत पार्टीका सतिशकुमार सिंहले शुक्रबार बिहान दाबी पेस गरेका छन्। 

सोही अनुसार उनलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया भइरहेको र मध्यान्न १२ बजेका लागि शपथग्रहणको तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयका एक कर्मचारीले न्यूजगृहलाई जानकारी दिए। 

‘दाबी पेस अनुसार मुख्यमन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ,’ ती कर्मचारीले भने, ‘जसअनुसार आजै मध्यान्न १२ बजेका लागि शपथग्रहणको तयारी भइरहेको छ।’ 

त्यस्तै सत्ता साझेदार दलबीच मन्त्रालयको समेत टुंगो लागिसकेको छ। आजै केही मन्त्रीहरुले शपथग्रहण गर्ने कार्यक्रम रहेको छ। 

मधेसका एमाले, माओवादी, एकीकृत समाजवादी, जनमतसहित ६ दलको समर्थनमा सिंहले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष दाबी पेस गरेका छन्। 

राति अबेरसम्म बसेको साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएपछि उनले बिहानै दाबी पेस गरेका हुन्।

१०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सांसदले सतिश सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेको उनीहरूले दाबी गरेका छन्।

मधेसका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रबार बिहान १० बजेसम्‍मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १०:४७
Weather Update