News Griha :: न्यूजगृह
मधेसको मुख्यमन्त्रीमा जनतमतका सतिश सिंहको दाबी पेस

काठमाडौं— जनमत पार्टीका सतिशकुमार सिंहले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष दाबी पेस गरेका छन्। राति अबेरसम्म बसेको साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएपछि उनले बिहानै दाबी पेस गरेका हुन्।

सतिशले एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा दाबी पेस गरेका हुन्। १०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सांसदले सतिश सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेको उनीहरूले दाबी गरेका छन्।

मधेसका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रबार बिहान १० बजेसम्‍मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। सरकारको नेतृत्व जनमतले गर्ने पहिल्यै सहमति भएपनि मन्त्रालय भागबन्डामा सहमति जुट्न सकेको थिएन।

साझेदार दलहरूबीच एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन नेकपा एकीकृत समाजवादीलाई कृषि, उर्जा तथा सिँचाइ, १–१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको स्रोतले जानकारी दिएको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०८:२९
Weather Update