News Griha :: न्यूजगृह
राति यी तीन प्रदेशमा वर्षाको सम्भावना, काठमाडौं उपत्यकामा के होला?

काठमाडौं—बिहीबार राति पनि देशभर तर केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार बिहीबार बेलुका ७:४० बजे भने मुलुकभर कतै पनि वर्षा भएको संकेत छैन।

‘पहाडी भेगमा मात्र मौसम बदली मात्र भएको देखिन्छ’, उनले भने, ‘राति भने देशका केही ठाउँमा वर्षा हुने सम्भावना छ।’

मौसम महाशाखाको प्रक्षेपणअनुसार राति कोशी, बागमती र गण्डकी  प्रदेशसहित देशका पहाडी भेगमा मौसम आंशिक (पातलो बादल) देखि साधारणतया बदली (आकाशमा डम्म बादल) हुने सम्भावना छ भने बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा (लगभग आकाश सफा) रहने छ।

यसक्रममा कोशी प्रदेशका केही तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा, साथै देशका बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

यसैबीच आज राति काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना देखिएको मौसमविद् प्रधानाङ्गको भनाइ छ। मौसम महाशाखाले आज राति काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना ३० प्रतिशत रहेको जनाएको छ। 

मौसमविद्का अनुसार हाल नेपालमा स्थानीय वायुको मात्र प्रभाव छ, अन्य मौसम प्रणाली छैन।  

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १९:४५
Weather Update