बालिकालाई जबरजस्ती करणी गर्ने इन्स्पेक्टरलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं — १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर सिवाकोटीलाई ५ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर सिवाकोटीमाथि पीडित बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ।
बालिकालाई घरमा काम गराउनेसँगै पढाउँदै आएका सिवाकोटीले ३ वर्षदेखि करणी गरेको बयान बालिकाले दिएकी छन्।
बालिकाले असह्य भएपछि काठमाडौं महानगर प्रहरीलाई जानकारी गराएकी थिइन्। महानगर प्रहरी र नेपाल प्रहरी घटनास्थल पुगेर मुचुल्का गरी सिवाकोटीलाई पक्राउ गरेको थियो।
काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी वसन्त रजौरेले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताए।
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१ १८:२०













