News Griha :: न्यूजगृह
व्यासको मतगणनासम्बन्धी विवादबारे सर्वोच्चमा रिट, आइतबारका लागि पेसी 

काठमाडौं— तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्नेसम्बन्धी विवादबारे सर्वोच्च अदालतमा रिट परेको छ।  

यसअघि नै  गत जेठ १ गते उच्च अदालत कास्कीले व्यासको मतगणना पुनः गर्न आदेश दिएको थियो। 

उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्तले इजलासले गत स्थानीय तह निर्वाचनमा नगरप्रमुखको मतगणना बदर गरी पुनःमतगणना गर्न आदेश दिएको हो।  

तर बिहीबार व्यासका नगरप्रमुख बैठुण्ड न्यौपानेले मतगणना पुनः गर्ने उच्च अदालतको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन्। अल्पकालीन अन्तरिम आदेश जारी गर्न मागसहित सर्वोच्चमा रिट दर्ता भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले न्यूजगृहलाई जानकारी दिए। उनका अनुसार उक्त रिटको पेसी जेठ २७ गते आइतबारका लागि तोकिएको छ। 

‘अन्तरकालीन अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट परेको छ,’ उनले भने, ‘उक्त रिटको पेसी आइतबारका लागि तोकिएको छ।’  

त्यसो त उच्च अदालतको आदेश अनुसार आगामी असार २ गते पुनःमतगणना हुने मिति तोकिएको छ। 

नगरप्रमुखका उम्मेदवार दीपकराज जोशीले मतगणनामा धाँधली भएको भन्दै २०७९ जेठ १२ गते निर्वाचन आयोगसहित पाँच जनालाई विपक्षी बनाइ रिट दर्ता गरेका थिए। रिटमा अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको थियो। 

२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनअन्तर्गत नगरप्रमुख बैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका थिए भने जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरेका थिए। 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १६:१७
Weather Update