News Griha :: न्यूजगृह
सभामुखले संसदीय प्रक्रिया भुलेपछि एउटै सम्झौता २ पटक पारित 
फाइल तस्बिर

काठमाडौं— बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा संसदीय प्रक्रियाबारे सभामुख देवराज घिमिरे झुक्किएका छन्।  

बैठकमा उर्जामन्त्री शक्ति बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता संसद्मा पेस गर्ने कार्यसूची रहेको थियो। सोही सम्झौतासम्बन्धी प्रस्ताव पेस गर्ने विषयमा सभामुख झुक्किएपछि उक्त सम्झौता २ पटक पारित गर्नुपर्ने अवस्था निर्माण भयो। 

बैठकमा सुरुमा सभामुख घिमिरेले मन्त्री बस्नेतलाई सम्झौताको प्रावधानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएपछि मन्त्री बस्नेतले छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे। उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले स्वीकार गरेपछि त्यसका प्रावधानमाथि एमाले सांसद रघुजी पन्त, जुलिकुमारी महतो लगायतका सांसदहरुले धारणा राखे। 

सांसदहरुले त्यसमा धारणा राखेपछि मन्त्री बस्नेतले उठेका प्रश्नहरुको जवाफ दिए। त्यसपछि सभामुखले सम्झौता अनुमोदनका लागि समय दिनुपर्ने थियो। तर सभामुख घिमिरेले भने निर्णयार्थ प्रस्तुत गरेपछि केही सांसदहरुले एक आपसमा त्यसबारे शंका भाव प्रकट समेत गरेका थिए। 

उक्त प्रस्तावमाथि हुन्छ वा हुन्न भन्न लगाएपछि नेमकिपाका सांसद प्रेम सुवालबाहेक सबैले सहमतिको हात ठडाए। त्यसपछि सभामुखले सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरे तर उक्त अनुमोदनको प्रस्ताव नै सदनमा पेस भएको थिएन। 

लगत्तै संसद् सचिवालयका कर्मचारीले त्रुटी भएको सम्झाएपछि सभामुखले पुनः प्रक्रिया अघि बढाएका थिए।  

सो क्रममा सभामुख घिमिरेले आफ्नो तर्फबाट गल्ती भएको स्वीकार गर्दै ‘माननीय सदस्यहरू हामीले एउटा सन्दर्भ अलिकति तलमाथि पर्न गएर सच्याउनुपर्ने भयो। माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीज्यूले सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव टेबल गर्ने एउटा प्रस्ताव थियो। त्यो हामीले छुटाउन गएछौँ।’

त्यसपछि बल्ल सभामुख घिमिरेले उर्जामन्त्रीलाई सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्र्न समय दिएर मन्त्री बस्नेतले अनुमोदनका लागि प्रस्ताव पेस गरे। 

त्यसअघि भएको त्रुटी सच्याउन अन्य त्रुटीहरु पनि सच्याउनुपर्ने भन्दै सभामुखले प्रक्रियालाई अघि बढाए। उनले सम्झौतासम्बन्धी प्रस्तावको अनुमोदनका लागि लागि निर्णायार्थ प्रस्तुत गरे। प्रेम सुवालबाहेक अन्य बहुमत सांसदहरुले हुन्छ भन्ने मत देखिएपछि उक्त सम्झौता अनुमोदन भएको घोषणा गरिएको थियो। 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १५:००
Weather Update