News Griha :: न्यूजगृह
मधेसः गाउँपालिकामा हारेका सतिशलाई जनमतमा लागेपछि फापेको राजनीति  

काठमाडौं— मधेस प्रदेशको मुख्यमन्त्रीमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश सभा सदस्य सतिशकुमार सिंहलाई अघि सारेको छ। 

निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि मधेसमा नयाँ सरकार गठनको तयारी भएको छ। 

यसैबीच जनमतले सतिशलाई मुख्यमन्त्रीमा अघि सारेको हो। जनमतको संसदीय दलका नेता महेशकुमार यादव भए पनि पार्टी बैठकमा राजपूत समुदायबाट सिंहलाई मुख्यमन्त्रीमा अघि सार्नुपर्ने धारणा आएपछि उनी मुख्यमन्त्रीका लागि अघि आएका हुन्।  

मुख्यमन्त्री बन्न लागेका उनै सतिश गत निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गाउँपालिका अध्यक्षमा पराजित पात्र हुन्।  

२०७४ सालको स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष बनेका थिए। तर गत निर्वाचनमा भने उनी त्यहाँबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बने पनि जित जोगाउन सकेनन्। त्यसपछि लोसपा छोडेर जनमतमा प्रवेश गरेका उनी सप्तरी २ ‘क’ बाट प्रदेश सभा सदस्य चुनिए। 

मधेसमा जनमतको नेतृत्वमा सरकार गठन गर्ने सत्तारूढ दलबीच सहमति भइसकेको भने त्यसमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले सहयोग गर्ने भएका छन्।

सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष बनेका थिए। उनी सो निर्वाचनमा महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा (हालको लोसपा) बाट गाउँपालिका अध्यक्ष बनेका हुन्। तर गत निर्वाचनमा पनि उनी त्यहाँ लोसपाबाटै  गाउँपालिका अध्यक्षको उम्मेदवार बने पनि जित जोगाउन सकेनन्। त्यसपछि लोसपा छोडेर जनमतमा प्रवेश गरेका उनी सप्तरी २ ‘क’ बाट प्रदेश सभा सदस्य चुनिए। 

बुधबार मुख्यमन्त्रीका रुपमा यादवले विश्वासको मत नपाएप्छि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि आह्वान गरेकी छिन्।

भोलि शुक्रबार बिहान १० बजेसम्म दाबी पेस गर्न आह्वान गरिएकोमा पार्टी र सत्ता गठबन्धनबाट अर्को निर्णय नआएमा उनै सतिशकुमार मधेसको मुख्यमन्त्री बन्नेछन्। साथै मधेसमा अन्य दललाई चुनौती दिइरहेको जनमतले त्यहाँ आफ्नो राजनीतिमा छाप छाड्ने देखिन्छ। 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १२:५९
Weather Update