-1717655237.jpg)
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले गिरीबन्धुको जग्गा प्रकरणको फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन्।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले एमालेले गिरीबन्धुको जग्गा प्रकरणमा कांग्रेसको हात रहेको आरोप लगाएको भन्दै उक्त फाइल खोलेर कांग्रेसलाई दण्डित गर्न चुनौती दिएका हुन्।
तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जोडिएको झापाको गिरीबन्धु टी–स्टेटको जग्गाबारे पछिल्लो समय संसद्मा कांग्रेस–सांसदबीच घोचपेच चलिरहेको छ। यसैक्रममा सर्वोच्च अदालतले उक्त निर्णय उल्ट्याउँदै नीतिगत भ्रष्टाचारसँग जोडिएको उक्त विषय अनुचित लेनदेनमा आधारित रहेको फैसला सुनाएको छ।
तर सो विषयमा कांग्रेसले त्यहाँको ७० बिघा जग्गा कांग्रेसले बेचेर खाएको आरोप ओलीले लगाउँदै आइरहेका छन्। त्यतिमात्र होइन एमालेका सांसदहरुले पार्टी अध्यक्षमाथि नियोजित आरोप लगाइएको भन्दै माफी माग्नुपर्ने धारणा सार्वजनिक गर्दै आइरहेका छन्।
सो विषयमा बोल्दै शर्माले भने, ‘म यहाँनेर गृहमन्त्रीजीलाई खोज्न चाहन्छु, सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलको अध्यक्ष (केपी शर्मा ओली) ले कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गा खायो भनेर जे आरोप लगाउनुभएको छ। त्यसमाथि छानबिन गरेर कांग्रेसलाई दण्डित गर्न तयार हुनुहुन्छ? म जान्दछु, खोल्न होइन बोल्न पनि सक्नुहुन्न।’
गिरीबन्धुको विषयमा सर्वोच्चले नै ओलीको निर्णय गलत र नीतिगत भ्रष्टाचारसँग जोडिएको भने पनि पहिला आफूहरुले त्यसमा कुनै प्रतिक्रिया नदिएको बताए। तर स्वंय ओलीले नै ७० बिघा जग्गा कांग्रेसले खाएको आरोपपछि मात्रै आफूहरुले त्यसको प्रतिवादमा उत्रिएको बताए।
‘उहाँ (केपी शर्मा ओली) ले फायर खोल्दै भन्नुभयो, कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गा बेचेर कमिसन खायो। के यो आरोप सही थियो? रौद्ररुप धारण गरेर उहाँले कांग्रेसप्रति आरोप लगाएपछि मौन धारण गर्न सकिएन प्रतिवाद गरियो,’ उनले भने।
त्यस्तै महामन्त्री शर्माले अदालतले निदोष ठहर गरिसकेको अवस्थामा पनि आईसीसी टी–२० विश्वकप खेल्न जान रोकिएको विषयमा खेलकुदमन्त्री लगायतको सरकारको ध्यानाकर्षण गराएका छन्।