दक्षिणकालीको भीरमा भेटिएको दुवै शवको पहिचान खुल्यो

काठमाडौं— काठमाडौंको दक्षिणकाली नगरपालिका–८ केराबारीको भीरमा भेटिएको २ शवको पहिचान खुलेको छ।
प्रहरीका अनुसार मृत्यु हुनेहरुमा धादिङको सिद्धलेख गाउँपालिका–५ घर भएर भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका –५ भक्तपुर बस्ने ३२ बर्सिया सरिता राई छन्।
काठमाडौं–दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भीरमा उनीहरुको शव भेटिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
शव नजिकै बागमती प्र ०३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएकाले उनीहरू दुर्घटनामा परेका हुनसक्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय फर्पिङ र विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट खटिएको टोलीले घटनास्थलबाट शव निकालेको छ।
घटनाको आवश्यक अनुसन्धान भइरहेको मैनालीले बताए।
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१ ११:५०













