-1717649188.jpg)
काठमाडौं— मधेस प्रदेशमा जनमत पार्टीले मुख्यमन्त्रीका लागि प्रदेश सभा सदस्य सतिशकुमार सिंहलाई अघि बढाउने भएको छ।
पार्टीभित्रको आन्तरिक छलफलपछि आफूलाई मुख्यमन्त्रीको रुपमा अघि बढाउने निर्णय भएको सिंहले न्यूजगृहलाई जानकारी दिए। मधेस प्रदेशमा जनमतका तर्फबाट संसदीय दलका नेता भने महेशप्रसाद यादव रहे पनि मुख्यमन्त्रीमा सिंहलाई अघि बढाउन लागिएको हो।
‘पार्टीको बैठकले मेरै नाममा सहमति गर्ने निर्णय गरेको छ,’ सिंहले भने, ‘पार्टीको आन्तरिक छलफलपछि मलाई अघि बढाउने निर्णय भएको हो, केहीबेरमा आधिकारीक रुपमा निर्णय सार्वजनिक हुन्छ।’
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जसपा नेपालका सरोजकुमार यादवले बुधबार विश्वासको मत प्राप्त गर्न नसकेपछि मधेसमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो।
मुख्यमन्त्री यादवले विस्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले बुधबार राति नै नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्।
डेढ वर्षमा पाँचौ पटक विश्वासको मतका लागि प्रदेशसभामा उपस्थित भएका मुख्यमन्त्री यादवको पक्षमा ५० र विपक्षमा ५३ मत परेको थियो। १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि शुक्रबार बिहान १० बजेसम्मका लागि समय दिइएको छ।