बाल यौन दुर्व्यवहार आरोपमा इन्स्पेक्टर शिवाकोटी पक्राउ
काठमाडौं— नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा कार्यरत इन्स्पेक्टर बिदुर शिवाकोटी छन्।
१३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको आरोपमा शिवाकोटी पक्राउ परेका हुन्। उनी हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन्।
शिवाकोटीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
काठमाडौं महानगरपालिकाले विद्यालयहरूमा सचेतनामूलक अभियान चलाइरहेको थियो। सोही क्रममा ती बालिकाले आफूमाथि यौन दुर्व्यवहार र कुटपिट भएको बताएपछि महानगरपालिका, बाल अधिकारकर्मी, स्वयम्भु प्रहरी लगायतको टोली परिचालित भएको थियो।
महानगरको टोलीले इन्स्पेक्टर शिवाकोटीलाई नियन्त्रणमा लिएर स्वयम्भु प्रहरीको जिम्मा लगाएको हो।
ती बालिकालाई भने उद्धार गरी सुरक्षा गृहमा राखिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१ ०९:२१













