दक्षिणकालीमा मोटरसाइकलबाट खसेर मृत्यु भएका दुई जनाको शव भेटियो
काठमाडौं— काठमाडौंको दक्षिणकाली नगरपालिका–८ स्थित केराबारीमा दुई जना मृत भेटिएका छन्। मृत्यु हुनेमा एक जना महिला र एक जना पुरुष छन्।
घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल भेटिएको छ। भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली परिचालन गरिएको छ।
मोटरसाइकलबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए।
करिब ५ दिनअघि मोटरसाइकलसँगै उनीहरू खसेको आशंका छ। बुधबार दिउँसो बाख्रा चराउन जाँदा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका हुन्। घटनाबारे प्रहरी प्रभाग फर्पिङले अनुसन्धान थालेको छ।
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१ ०८:५३