काठमाडौं— भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले नरेन्द्र मोदीलाई सर्वसम्मतिले आफ्नो नेता चयन गरेको छ। योसँगै मोदीले लगातार तेस्रोपटक प्रधानमन्त्री बनेर देशको कमान्ड सम्हाल्ने दिशामा अर्को कदम अगाडि बढाएका छन्।
लोकसभा चुनावमा सत्तारूढ गठबन्धनले बहुमत पाएको एक दिनपछि बुधबार प्रधानमन्त्री निवासमा एनडीएका वरिष्ठ नेताहरूको बैठकले मोदीलाई नेता बनाएको हो।
बैठकमा उपस्थित सबै घटक दलहरूले प्रधानमन्त्री मोदीको नेतृत्वमा विश्वास व्यक्त गर्दै उनको नेतृत्वमा भारतका गरिब, महिला, युवा, किसान, शोषित, वञ्चित र उत्पीडित नागरिकको सेवा गर्न सरकार प्रतिबद्ध रहेको दाबी गरे।
बैठकमा तेलुगु देशम पार्टी (टीडीपी) का अध्यक्ष एन चन्द्रबाबु नायडू, जनता दल (संयुक्त) का नेता र बिहारका मुख्यमन्त्री नितिश कुमार, शिवसेना नेता र महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे र लोक जनशक्ति पार्टी (रामविलास)का नेता चिराग पासवान सहभागी थिए।
यसबाहेक हिन्दुस्तानी अवाम मोर्चा (ह्याम)का जितनराम माझी, जनसेना पार्टीका पवन कल्याण, एनसीपी (अजित पवार) का प्रफुल्ल पटेल र सुनील तटकरे, अपना दल (सोनेलाल), राष्ट्रिय लोक दलका जयन्त चौधरी, असम गण परिषदका अतुल बोरा, सिक्किम क्रान्तिकारी मोर्चाका इन्दर हाङ सुब्बा, अखिल झारखण्ड विद्यार्थी संघ (एजेएसयू) का सुदेश महतो र जदयूका राजीव रञ्जन सिंह। र सञ्जय झा पनि बैठकमा उपस्थित थिए।
बैठकमा प्रधानमन्त्री मोदीबाहेक भाजपाका तर्फबाट पार्टी अध्यक्ष जेपी नड्डा, राजनाथ सिंह र अमित शाह सहभागी थिए।
भाजपाले आफ्नै बलमा बहुमत नपाएकाले सरकार बनाउन सहयोगीहरूमा भर पर्नु परेको छ । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक हुन्छ । एनडीएले २९२ सिट जितेको छ ।