News Griha :: न्यूजगृह
यो सिजनमा सफा हिमाल अभियानबाट ११ हजार केजी फोहोर संकलन 
फाइल तस्बिर।

काठमाडौं— नेपाली सेनाको सफा हिमाल अभियानको पाँचौं संस्करणमा यसपटक ११ हजार केजी फोहोर र चार वटा मानव शव संकलन भएको छ।

जंगी अड्डामा बुधबार आयोजित कार्यक्रममा सगरमाथा, ल्होत्से र नुप्से हिमालबाट संकलित फोहोर मध्ये २२ सय २६ केजी कुहिने र ८ हजार ७ सय ७४ केजी नकुहिने भेटिएको जानकारी दिइएको हो।

विश्व वातावरण दिवसको अवसर पारेर जंगी अड्डामा आयोजित झण्डा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको अगुवाइमा प्रकृति र पर्यावरणको संरक्षणमा नेपाल सरकारसँगै सरोकारवाला निकायको सामूहिक प्रयास उदाहरणीय रहेको बताए। सफाइ अभियानभन्दा पनि फोहोर नै हुन नदिने नियममा कडाइका साथ पालन हुनुपर्ने भनाइ उनले राखे। 

कार्यक्रममा सफा हिमाल अभियानका टीम लिडर सेनानी आदित्य कार्कीले प्रधान सेनापतिलाई अभियानको झण्डा हस्तान्तरण गरेका थिए। कार्यक्रममा अभियानका सदस्य, शेर्पा सहयोगी, वन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ, पिक प्रमोसन प्रालि, खुम्बु पासाङ ल्हामु गाउँपालिका लगायतका प्रतिनिधिलाई कदरपत्र प्रदान गरिएको थियो।

पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले टोली नेता सेनानी कार्कीलाई सगरमाथा आरोही ब्याच हस्तान्तरण गरेका थिए। 
सफा हिमाल अभियान सन् २०१९ देखि सुरु गरिएको हो। 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १९:५५
Weather Update