News Griha :: न्यूजगृह
सहकारी ठगी प्रकरणः छानबिन समितिको पहिलो बैठकमा के भयो निर्णय? 

काठमाडौं— सहकारी ठगी प्रकरणका विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बसेको छ। 

बुधबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सभामुख देवराज घिमिरेसहित समितिका संयोजक र सदस्यहरु उपस्थित रहेका थिए। 

आजको बैठकमा सभामुखसँग समितिका सदस्यहरुको परिचयात्मक कार्यक्रम भएको र छानबिन समितिको सचिवालय बनेको रास्वपाका सांसद एवं समितिका सदस्य शिशिर खनालले न्यूजगृहलाई जानकारी दिए। 

उनका अनुसार उक्त सचिवालयलाई कार्यविधि बनाउन निर्देशन दिइएको छ। 

‘आजको बैठकमा सभामुखसँग समितिका संयोजकसहित सदस्यहरुको परिचयात्मक कार्यक्रम भयो र त्यसपछि समितिको सचिवालय गठन गरियो,’ उनले भने, ‘सहसचिवको नेतृत्वमा गठन भएको सचिवालयलाई कार्यविधि बनाउन निर्देशन दिइएको छ।’ 

अर्को बैठक आगामी शुक्रबार बस्ने उनले बताए। 

सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिनको माग गर्दै संसद् अवरोध गरेपछि यही जेठ १५ गते एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको थियो। 

७ सदस्यीय समितिमा एमालेबाट संयोजक थापासहित सरिता भुसाल, कांग्रेसबाट सांसदहरू ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १७:४१
Weather Update