News Griha :: न्यूजगृह
आजै विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादव तयार

काठमाडौं— मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आजै विश्वासको मत लिने तयार भएका छन्। 

आज विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको थियो। तर मुख्यमन्त्री यादवले भने आफू बिरामी रहेको भन्दै आगामी जेठ २८ गते सम्म समय सार्न सभामुखलाई आग्रह गरेका थिए। 

तर सभामुख रामचन्द्र मण्डलले उक्त प्रस्ताव अस्वीकार गरेपछि आजै विश्वासको मत लिने मनस्थितीमा मुख्यमन्त्री यादव पुगेका हुन्। 

अहिले जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश संसदीय दलको बैठक बसेको र उक्त बैठकले निर्णय गरेपछि आजै विश्वासको मत लिने तयारी रहेको जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले न्यूजगृहलाई जानकारी दिए। 

‘हामीले सभामुखज्यूलाई २८ गते विश्वासको मत लिने विषयमा जानकारी गराएका थियौँ, तर उहाँले मान्नुभएन। त्यसपछि हामी हाम्रो दलको बैठक बसेर त्यसबारेमा निर्णय लिँदैछौँ,’ यादवले न्यूजगृहसँग भने।  

सभामुखले विश्वासको मत लिने दिन सार्न अस्वीकार गरेपछि आजै बैठक बसेको थियो। तर उक्त बैठकमा मुख्यमन्त्रीसहित मन्त्रीहरु अनुपस्थित भएपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको छ। 

बैठक स्थगित भएपछि जसपा नेपालका सांसदहरुले मुख्यमन्त्रीसँग समेत छलफल गरेको र आजै विश्वासको मत लिने तयारी भइरहेको यादवले बताए। 

गत वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटेको थियो। त्यसैका आधारमा आजको मितिले ३० पुगेको र आजै विश्वासको मत लिनुपर्ने सभामुखको धारणा थियो। 

संविधानको धारा १८८ को उपधारा २ बमोजिम सरकारको नेतृत्व गरिरहेको दल फुटेको अवस्थामा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ। 

तर जसपा नेपालले भने पार्टी विभाजनको रिट विचाराधीन रहेको र सर्वोच्चले पार्टी गठन प्रक्रिया रोकिदिएको कारण देखाउँदै २८ गते मात्रै ३० पुग्ने र सोही दिन विश्वासको मत लिने बताउँदै आइरहेको छ। 

गत वैशाख २८ गते एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएका थिए। त्यससँगै अल्पमतमा परेका मुख्यमन्त्री यादवले अन्तिम दिन अर्थात् २८ गते विश्वासको मत लिने जानकारी गराएका थिए। तर उक्त कुरालार्ई सभामुखले अस्वीकार गरेपछि आजै विश्वासको मत लिन मुख्यमन्त्री तयार भएका हुन्। 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १७:२३
Weather Update