काठमाडौं— भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजिनामा दिएका छन्। बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन्। राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
मोदी मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बसेको अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको थियो। त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका हुन्।
मोदीले जुन ८ मा तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिन सक्नेछन्। बहुमत जुटाउनका लागि एनडीए गठबन्धनका सांसदहरूबाट हस्ताक्षर संकलन गरिएको छ।
लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ। यो बहुमत संख्या (२७२) भन्दा ३२ सिट कम हो। भाजपा नेतृत्वको गठबन्धन एनडीएले प्राप्त गरेको २९२ सिटको आधारमा बहुमत जुटाउने कसरत भइरहेको छ।
बहुमत जुटाउन सके उनी जवाहरलाल नेहरू पछि तीन कार्यकाल प्रधानमन्त्री बनेर इतिहास रच्नेछन्।
सन् २०१४ मा २८२ र सन २०१९ को निर्वाचनमा ३०३ सिट जितेका भारतीय जनता पार्टीले यसपटक २४० सिट मात्र जित्न सफल भयो । तेस्रो कार्यकालका लागि उनी गठबन्धनका दलहरूले प्राप्त गरेको ५३ सिटमा भर पर्नुपर्नेछ।