News Griha :: न्यूजगृह
विपद् क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने

काठमाडौं— सरकारले विपद्का बेलामा रिपोर्टिङ गर्न जाने पत्रकार र स्वयंसेवकमा खटिने मानिसहरूलाई तालिम प्रदान गर्ने भएको छ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बर्खा सुरु भएसँगै सरकारले नागरिकको जिउ धनको सुरक्षाको लागि के कस्तो काम गरिरहेको छ भन्ने सन्दर्भमा सदनलाई जानकारी गराउँदै गृहमन्त्री रवि लामिछानेले विपद्का बेलामा रिपोटिङ गर्न जाने पत्रकारहरू र स्वयंसेवकमा खटिने मानिसहरूको जोखिमलाई कम गर्न तालिमको व्यवस्था गरेको जानकारी दिए। 

उनले भने, ‘विपद्का बेलामा रिपोटिङ गर्न जाने पत्रकारहरू स्वयंसेवकमा खटिने मानिसहरूको जोखिमलाई पनि ध्यानमा राखेर उहाँहरूलाई तालिमको व्यवस्था गर्न यसैसाता सम्बन्धित निकायले जोड लगाउनुभएको छ। तालिम प्राप्त गरेर रिपोटिङमा र स्वयंसेवकमा खटिएकालाई कम जोखिन हुने भएकाले यस्तो व्यवस्था मिलाएका छौं ।’ 

उनले सूचना तथा सञ्चारको विषयलाई पनि गम्भीरतासाथ लिएर जल तथा मौसम विभाग र दूरसञ्चार प्राधिकरणको समन्वयमा विपद् जोखिमबारे आम जनमानसलाई निरन्तर सूचना प्रवाह गर्ने व्यवस्था गरेको जानकारी दिए।

गृहमन्त्रीका अनुसार कमान्ड पोस्टले आवश्यकता अनुसार आजैबाट दैनिक प्रेस बुलेटिन पनि जारी गर्ने छ भने ११४९ नम्बरमा फोन गरेर बाढी र विपद् सम्बन्धी सूचना पाउन सकिने छ। 

उनले भने, ‘हामीले खासगरी खाद्य सामग्री एवम् राहत सामग्रीको ढुवानी लगायतका विषयमा सहयोगको अपेक्षा गरेका छौं। सूचना तथा सञ्चारको विषयलाई पनि हामीले गम्भीरताका साथ लिएका छौं। जल तथा मौसम विभाग र दूरसञ्चार प्राधिकरणको समन्वयमा विपद् जोखिमबारे आम जनमानसलाई निरन्तर सूचना प्रवाह गर्नका लागि कमान्ड पोस्टले आवश्यकता अनुसार आजैबाट दैनिक प्रेस बुलेटिन पनि जारी गर्ने कुराको पनि जानकारी गराउँछु। आजैबाट मनसुन बारे पैसा नलाग्ने ११४९ नं. मा फोन गरेर बाढी सम्बन्धी सूचना पाउन सकिने छ।’ 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १३:०३
Weather Update