सूर्यदर्शन सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई देखाए कालोझण्डा, ११ जना पक्राउ, प्रहरीको कुटाइबाट २ घाइते
काठमाडौं— पोखराका सहकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाएका छन्।
बुधबार बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरूले कालो झण्डा देखाएका हुन्।
उनीहरूले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए।
कालो झण्डा देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको कुटाइबाट दुई जना घाइते छन्।
प्रधानमन्त्री प्रचण्ड गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलगायतमा सहभागी हुन मंगलबार पोखरा पुगेका हुन्।
बुधबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी भएर पार्टी प्रशिक्षण कार्यक्रममा जाँदै गर्दा सहकारी पीडितले कालो झण्डा र ब्यानर देखाएका हुन्।
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१ १२:५५