News Griha :: न्यूजगृह
काठमाडौं महानगर क्षेत्रमा सञ्चालित अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन

काठमाडौं— काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित अस्पतालहरूलाई १५ दिनभित्र अनिवार्य रुपमा आफ्नै फार्मेसी (औषधि पसल) सञ्चालन गर्न निर्देशन दिएको छ।

महानगरको स्वास्थ्य विभागले बुधबार एक सूचना जारी गर्दै काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित अस्पतालहरूलाई अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको हो।

हाल महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन नगरेको पाइएको महानगरपालिकाले जनाएको छ।

अस्पतालहरूले अन्य व्यक्तिहरूलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको ठहर महानगरले गरेको छ। 

महानगरले २०७४ सालमा सर्वोच्च अदालतले अस्पतालहरूलाई आफ्नो स्वामित्वमा अनिवार्यरूपमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनेर गरेको आदेशको पनि स्मरण गराएको छ।

‘सर्वोच्चको आदेश र तोकिएको मापदण्ड बमोजिम महानगरवासीको स्वास्थ्य सेवा सरल र सुलभ रुपमा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित सबै अस्पतालले १५ दिनभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्नको लागि यो सार्वजनिक सूचनामार्फत सूचित गरिन्छ,’ महानगरको सूचनामा भनिएको छ।  

हेर्नुहोस् सूचना

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०९:५६
Weather Update