News Griha :: न्यूजगृह
आज विश्वासको मत लिने तयारीमा मधेस प्रदेशका मुख्यमन्त्री यादव

धनुषा— मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने तयारी गरेका छन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले बुधबार पाँचौ पटक विश्वासको मत लिन लागेका हुन्।

पछिल्लोपटक सत्ता गठबन्धन मध्येका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले जानकारी दिए।

२०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलो पटक २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए। त्यसपछि २०८० जेठ १ गते नेकपा एमालेले समर्थन फिर्ता लिएपछि उनले जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिएका थिए भने तेस्रो पटक फागुन ६ गते विश्वासको मत लिए। त्यसबेला प्रदेशसभाको एक सय सातमध्ये उनले ६९ मत प्राप्त गरे।

यसपटक भने मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई अहिलेसम्म नेपाली कांग्रेसले मात्र विश्वासको मत दिने निर्णय गरेको छ। यस हिसाबले मुख्यमन्त्री आवद्ध पार्टी जसपाका १९ र कांग्रेसका २२ गरी ४१ सांसद उनको पक्षमा देखिएका छन्। 

मंगलबार मात्रै नेकपा एकीकृत समाजवादी प्रदेश सरकारबाट बाहिरिएको छ। मधेस प्रदेश सरकारमा एकीकृत समाजवादीका तर्फबाट  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायात मन्त्रीमा बेची लुंगेली थिए।

मधेसमा केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूले जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेका छन्। एमालेसहित नयाँ गठबन्धनको सरकार बनाउन पनि मधेसमा एकीकृत समाजवादी वा लोसपामध्ये एक दलको समर्थन अनिवार्य छ। 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०८:५३
Weather Update