News Griha :: न्यूजगृह
उपराष्ट्रपति निर्वाचन आज, यी हुन् उम्मेदवार

काठमाडौं— संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो उपराष्ट्रपति चयनका लागि आज शुक्रबार मतदान हुँदैछ ।२०७४ साल चैत ४ गते दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि आजै सकिँदै छ ।

निर्वाचन अधिकृतको कार्यालयले सम्पूर्ण तयारी पूरा भएको र बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान हुने जनाएको छ ।

उपराष्ट्रपति पदका लागि तीन जना उम्मेदवार छन् । नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव उम्मेदवार छन् । जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादव नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदको समर्थन र प्रस्तावमा उम्मेदवार भएका हुन् ।

जनमत पार्टीका झालाई भने लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदले समर्थन गरेको हो । जसपाकै अर्का उम्मेदवार प्रमिलाकुमारी उम्मेदवार नरहेको उक्त दलले जनाए पनि निर्वाचन अधिकृतको कार्यालयको समयसीमाभित्र उम्मेदवारी फिर्ता नलिएकोले मतपत्रमा उनको नामसमेत राखिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उपराष्ट्रपतिको निर्वाचनका लागि ९८० थान मतपत्र छापिएको जानकारी दिए । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का दुवै सदनका सदस्य र प्रदेश सभाका सदस्य रहने निर्वाचक मण्डलले मतदान गर्ने कानुनी व्यवस्था छ । सो व्यवस्थाबमोजिम ८८२ सदस्य मतदान गर्न योग्य छन् । 

सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले संघीय संसद्का सदस्यले मतदान गर्ने केन्द्रका लागि कृष्णशरण लामिछाने र प्रदेश सभा सदस्यले मतदान गर्ने केन्द्रका लागि मन्दिरा शाहीलाई मतदान अधिकृत नियुक्त गरिएको जानकारी दिइन् ।

आयोगले सार्वजनिक गरेको नमुना मतपत्रबमोजिम संघीय संसद्का सदस्यका लागि सेतो पृष्ठभूमिमा रातो अक्षरले लेखिएको मतपत्र छापिएका छन् । प्रदेश सभा सदस्यका लागि सेतो पृष्ठभूमिमा हरियो अक्षरले लेखिएको मतपत्र छापिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले) बाट उम्मेदवारी दिएका शाक्य, दोस्रो क्रममा जसपाबाट उम्मेदवारी दर्ता गराएकी प्रमिलाकुमारी, तेस्रोमा जनमत पार्टीका ममता झा र चौथोमा जसपाकै रामसहायप्रसाद यादवको नाम उल्लेख छ ।

मतपरिणाम आजै

निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार नै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको जनाएको छ । सहायक निर्वाचन अधिकृत शर्माले भने, ‘मतदान सम्पन्न भएलगत्तै निर्वाचन प्रतिनिधिको सहमतिमा मतगणना सुरु हुनेछ । साँझ ६ बजेभित्र मतपरिणाम आउने अपेक्षा गरेका छौँ ।’

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ०६:२४
Weather Update