
काठमाडौं— गत वैशाख १५ गते भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा इलाम– २ बाट निर्वाचित सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसद्मा पहिलो सम्बोधन गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा पहिलो पटक सुहाङले सम्बोधन गरेका हुन्। सम्बोधनका क्रममा केही भावुक देखिएका सुहाङले अझैपनि आफूलाई स्वर्गीय बाबु सुवासचन्द्रलाई सदनको कुनै कुनामा देखिरहेको बताए। नेम्वाङको निधनपछि एमालेले उनकै छोरा सुहाङलाई उम्मेदवार बनाएर उनले जित हासिल गरेका थिए।
पहिलो सम्बोधनमा सुहाङले के के भने ?
आज म पहिलो पटक यस सम्मानित सदनको रोष्ट्रममा उभिएर बोलिरहेको छु । आज म आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिन उपस्थित भएको हुँ । तर, मलाई आज अलिकति बजेटभन्दा बाहिरको विषयमा पनि बोल्ने छुट छ भन्ने लाग्छ । सबैभन्दा पहिला आदरणीय शहीदहरू रत्नकुमार बान्तवा, वम बान्तवा लगायतका ज्ञात अज्ञात शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। आज म इलामेलीवासीहरुको कारणले उभिन पाएको छु ।मलाई विजयी गराएर पठाउनुहुने इलाम, देउमाई, माई, चुलाचुली, फाक्फेथुङ, माङ्सेवुङका अति आदरणीय मतदाता प्रति आभार प्रकट गर्दछु । सम्माननीय सभामुख महोदय भदौ २६ को अप्रिय घटनापछि वैशाख १५ गतेको उपनिर्वाचन पश्चात म यहाँ उपनिर्वाचन मार्फत पहिलो पटक संसद्मा उभिएको छु ।
मलाई लागिरहेको छ । आज पनि बुवा यहीँ कतै उभिरहनु भएको छ । उहाँप्रति पनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । हामी सबैलाई थाहा छ । बुवा सुवासचन्द्र नेम्वाङ लोकतन्त्रका अटल हिमायती हुनुहुन्थ्यो । विचारको विविधता, बहुदलीय प्रतिस्पर्धा र स्वस्थ बहसलाई सम्मान गर्नुहुन्थ्यो । मुलुक एकजुट भएमा समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ भन्नेमा उहाँ दृढ हुनुहुन्थ्यो ।
सबै भाषाभाषी, धर्म, संस्कृति र जातजाति प्रति समान आस्था र सहअस्तित्व र आपसी एकता तथा मेलमिलापले मात्र राष्ट्रिय एकता बलियो हुन्छ भन्नेमा मान्यता राख्नुहुन्थ्यो । म उहाँले देखाउनु भएको यही मार्गदर्शनलाई शिरमा राखेर काम गर्ने संकल्प व्यक्त गर्दछु । मेरो हात समाएर अब युवा तयार हुनुपर्छ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिन चाहन्छु । कृतज्ञता व्यक्त गर्दछु । त्यसैगरी मलाई चुनावमा सहयोग गर्नुहुने सत्ता गठबन्धनका दलहरू नेकपा माओवादी केन्द्र, नेकपा र नेपाल परिवार दलका आदरणीय नेताहरूप्रति पनि धन्यवाद व्यक्त गर्दछु ।
सम्माननीय सभामुख महोदय बजेटबारे बजेटको सन्दर्भमा हाम्रो अग्रजहरूले राख्नु भएको राय र सुझावलाई समर्थन गर्दछु । मलाई लाग्दछ । बजेटको बलियो पक्ष । कमजोर पक्ष दुवै हुन्छ । उज्यालो सँगसँगै छायाँ पनि हुन्छ । उज्यालो पाटोलाई बोकेर छुटेकालाई समेट्ने तर्फ हाम्रो बहसलाई केन्द्रित गर्नुपर्छ । बजेट भनेको देशको एक आर्थिक वर्षको आय र व्ययको समग्रता हो । एक वर्षको योजना र कार्यक्रम हो । सरकारको घोषणापत्र पनि हो । तसर्थ बजेट एउटा यथार्थमा आधारित पनि हुनुपर्छ । अर्थमन्त्रीज्यूले यथार्थलाई ध्यानमा राखेर बजेट बनाउने प्रयास गर्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु । समयको कारण बजेटको समग्रता बारे बोल्ने छुट मलाई छैन् । त्यसैले संक्षिप्तमा आफ्नो भनाई राख्दैछु ।
म नयाँ सांसद हुँ । जनताहरूको हामी प्रतिको आशा भरोसा र विश्वास मसँग आलो छ । जनताहरूको आशा, अपेक्षा र माग तथा आक्रोश भर्खरै सुनेर आएको छु । दोस्रो कुरा म युवा पनि हुँ । युवाहरूको परिवर्तन र हुटहुटीको समस्यालाई नजिकबाट छामेको छु । जनताहरूको ती आशा, अपेक्षा र मागको सम्बोधनका लागि बजेट पर्याप्त छ कि छैन् भन्नेकुरा ठूलो प्रश्न छ ।यस वर्षको मात्र होइन् । हरेक वर्षको बजेट सुन्दा मलाई लाग्छ । आम जनताहरूलाई लाग्ने गरेको छ । अब देश बन्छ, बन्छ । तर फेरि एक वर्षपछि परिणाम हेर्दै गर्दा उहीँ घुमीफिरी रकस्टारजस्तै हुन्छ । त्यही कारणले गर्दाखेरी यति अग्रज र अनुभवी माननीयज्यू हरूको अगाडि उभिएर बोलिरहँदा खेरि म सम्माननीय सभामुख महोदय मार्फत सोध्न चाहन्छु ।
हाम्रो यात्राको तयारीमा समस्या कहाँ छ ? । किन हामी विकासको हिसाबले जहाँको त्यहीँ छौं ? । कार्यान्वयनको समस्या कहाँ कहाँ छ ? । हाम्रो विकास र समृद्धिको बाधक को हो ? समृद्धिका बाटोमा किन पटक पटक काँडा भेटिन्छन् ? । समृद्धिका यात्रामा अघि बढेका पाइलामा किन घरिघरि घाउचोट मात्रै लाग्छ । बाटोको अवरोध पन्छाउन तर्फ हाम्रो ध्यान जानुपर्ने हो कि ? । समस्या भ्रष्टाचार हो कि संरचनागत त्रुटि ? अथवा राजनीतिक अस्थिरता हो ? । हामीले आफैले आफैलाई प्रश्न गर्ने बेला आएको छ । सम्माननीय सभामुख महोदय हामीसँग के छैन ? प्राकृतिक हिसाबले सम्पन्न छौं । जनता परिवर्तनको तीव्र आकाङ्क्षामा मात्र होइन् । गहिरो प्रतिवद्धतामा छन् । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पनि छ । संविधान छ । अन्तराष्ट्रिय प्रतिवद्धता छ । आवधिक योजना र रणनीति पनि छ । कार्यान्वयनका लागि संरचना पनि छ । तर, हाम्रो यात्रा किन अघि बढिरहेको छैन ? । तल जनताले योजना मागी रहनुहुन्छ । हामी एउटा प्रण गछौँ । बजेट पनि आउँछ । तर, गुणस्तरीय काम भइरहेको हुँदैन । समस्या सुशासनको हो कि ? । यसतर्फ विमर्शका लागि अपील गर्दै फेरिपनि बजेटलाई समर्थन । शुभकामना दिँदै म मेरो मन्तव्य टुंग्याउन चाहन्छु ।