आरजुले अमरेशविरुद्ध दायर गरेको मुद्दामा मेलमिलाप गर्न आदेश
काठमाडौं— काठमाडौं जिल्ला अदालतले स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहविरुद्ध परेको गाली बेइज्जतीसम्बन्धी मुद्दालाई मेलमिलापमा पठाउने आदेश दिएको छ।
नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले अमरेशविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेकी थिइन्।
मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मेलमिलापमा पठाउने आदेश दिएको हो।
सिंहले २०८० साल जेठमा आरजु नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको आरोप लगाउँदै उनी भ्रष्ट महिला रहेको भन्दै कटाक्ष गरेका थिए। त्यसको विरुद्ध आरजुले २०८० साल जेठ २४ गते काजिअमा मुद्दा दायर गरेकी थिइन्।
अदालतको आदेशपछि दुवै पक्ष एकआपसमा मिल्नु पर्ने भएको छ।
सिंह यसअघि नेपाली कांग्रेसकै नेता रहेका थिए। गत निर्वाचनमा उनलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट सांसद निर्वाचित भएका हुन्।
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१ १७:५०













