News Griha :: न्यूजगृह
भारतबाट नक्कली ‘सर्टिफिकेट’ ल्याइ जागिर खाने २ जना शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा 

काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) ल्याइ शिक्षण पेसामा आवद्ध २ शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ।  

दाङको गलटाकुरी, कौवाघारीस्थित श्री प्राथमिक विद्यालयमा कार्यरत शिक्षक भिम कुमार डिसीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।  

उनका अनुसार शिक्षक डिसीले भारतको उत्तर प्रदेशबाट जारी भएको हाइस्कूल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल सरकारको स्थायी शिक्षकको रुपमा २०५० सालबाट जागिर सुरु गरेका थिए। 

उनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो। सो क्रममा २०५० साल असार १ गतेबाट सेवा प्रवेश गरेको र उनले पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको हो। शिक्षक डिसी हाल द्वित्तीय श्रेणी अन्तर्गतको जागिरबाट अवकास समेत भइसकेका छन्। 

डिसीले नक्कली प्रमाणपत्र पेस गरी सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर भएको ठहर गर्दै उनलाई सोही ऐनको दफा १६ (१) बमोजिम सजाय हुने मागदाबीसहित आरोपत्र दायर गरिएको हो।  

त्यस्तै अख्तियारले मंगलबार नै नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षण पेसामा कार्यरत अर्का शिक्षकविरुद्ध पनि आरोपत्र दायर गरेको छ। 

महोत्तरीको बलवा नगरपालिका–९ मा रहेको श्री राष्ट्रिय प्राथमिक विद्यालयमा अनुदान कोटा (राहत) का शिक्षक अशोक कुमार साहविरुद्ध आरोपत्र दायर गरेको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए। 

उनले भारतको बिहारस्थित कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालयबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी २०६९ सालबाट शिक्षण पेसामा आवद्द रहेका थिए। 

२०६९ साल कात्तिक २५ गते नियुक्ति लिइ कार्यरत उनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो। सो क्रममा उनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएपछि उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबीसहित आरोपत्र दायर गरिएको हो। 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १७:०९
Weather Update