-1717492437.jpg)
काठमाडौं—प्रतिनिधि सभामा आइतबारदेखि बजेटमाथिको छलफल जारी रहेको छ।
मंगलबारको छलफलमा अर्थमन्त्री वर्षमान पुन नभएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले अर्थमन्त्री नभइ आफ्ना कुरा नराख्ने अडान लिएपछि बैठक नै स्थगित हुन पुग्यो।
उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रियसभा बैठकमा गएको र केही बेरमा आउने भन्दै आफ्ना कुरा अघि बढाउन आग्रह गरिन्। उपसभामुख रानाले आफूले बोलाएको, आउँदै गरेको जानकारी गराउँदा पनि लिङ्देनले बजेटमाथिको छलफलको विषय अर्थमन्त्रीलाई नै सुनाउने भन्दै आफ्ना कुरा अघि नबढाउने अडान राखे।
सो क्रममा सभामुख देवराज घिमिरे बैठक सञ्चालनका लागि रोस्टममा पुगे। लिङ्देनले अर्थमन्त्री खाली भएपछि मात्रै कुरा राख्ने अडान कायम गरेपछि केहीबेर प्रतिनिधि सभा बैठक समेत स्थगित भएको थियो। सभामुख घिमिरेले प्रतिनिधि सभा र राष्ट्रिय सभामा मन्त्रीहरु जानुपर्ने भएकाले यसअघि पनि यस्तै समस्या हुने गरेको बताउँदै १५ मिनेटका लागि बैठक स्थगित भएको थियो।
राष्ट्रियसभाबाट अर्थमन्त्री फर्किएपछि पुनः प्रतिनिधि सभा बैठक सुचारु भइ लिङ्देनले आफ्ना कुराहरु राखेका छन्। अहिले संसद्मा बजेटमाथिको छलफल जारी रहेको छ।