-1717483666.jpg)
काठमाडौं— नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले २०४६ पछिका सबै काण्डहरुबारे छानबिन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै पूर्व मन्त्री समेत रहेका भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर आफ्ना पार्टी अध्यक्षमाथि खनिएको भन्दै सो कुरा बताएका हुन्।
पछिल्ला दिनहरुमा कांग्रेसले झापास्थित गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणमा ओली जोडिएको भन्दै त्यसमा छानबिन गर्नुपर्ने माग गर्दै आइरहेको छ। त्यसमाथि कटाक्ष गर्र्दै भट्टराईले ओलीमाथि निरोजित रुपमा आरोपहरु लगाइरहेको भन्दै अन्य काण्डहरुको समेत छानबिन गर्न माग गर्दै आफ्नो दल तयार रहेको बताए।
‘हामी ०४६ अघि र त्यसपछिको कुन–कुन प्रकरणको छानबिन गर्ने हो प्रत्येक कुराको छानबिन गर्ने हामी तयार छौँ,’ उनले भने, ‘एनसेलको गर्ने होकी टेरामक्सको गर्ने होकी अनि बाँसबारी जग्गा प्रकरणको गर्ने हो की, कोहलपुर जग्गाको गर्ने होकी बालमन्दिरको जग्गाको गर्ने होकी बालुवाटार जग्गाको गर्ने हो नेकपा एमाले तयार छ।’
भट्टराईले एमालेको नेताहरु अख्तियार र अदालतमा बयान दिन जान नपरेको दाबी गरे।
त्यस्तै बैठकमा बोल्दै उनले काठमाडौं महानगरपालिका मेयर बालेन शाहको गतिविधि संयमित नभएको भन्दै कटाक्ष गरे। पछिल्ला दिनमा ओली लक्षित अभिव्यक्तिबारे धारणा राख्दै उनले नेताहरुले व्यवस्था परिवर्तनको लागि जेल बसेको कुरामा खिसिटिउरी नगर्न आग्रह गरे।
त्यसैगरी काठमाडौंलाई सुन्दर बनाउनका लागि महानगरलाई सघाउन आफूहरु तयार रहेको तर बालेनको गतिविधि सुधार गर्नुपर्ने उनको तर्क रहेको छ।