News Griha :: न्यूजगृह
चार नेपाली शान्ति सैनिकलाई मरणोपरान्त ‘ड्याग ह्यामरसोल्ड’ अवार्ड

काठमाडौं— विश्व शान्तिको स्थापनाको लागि जीवन दिएका चार नेपाली शान्ति सैनिकलाई ड्याग ह्यामरसोल्ड अवार्ड र प्रधानसेनापति प्रशंसापत्र प्रदान गरिएको छ ।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा चार नेपाली शान्ति सैनिकले पुर्‍याएको योगदानको स्मरण र कदर गर्दै उनीहरूको परिवारका सदस्यहरूलाई उक्त अवार्ड र प्रशंसा पत्र प्रदान गरिएको हो ।

संयुक्त राष्ट्र संघ (यूएन) ले प्रदान गर्ने महत्वपूर्ण पुरस्कारको रुपमा ‘ड्याग ह्यामरसोल्ड’ अवार्ड पर्छ भने नेपालमा सेनाभित्र दिइने महत्वपूर्ण अवार्डको रुपमा प्रधानसेनापति प्रशंसा पत्रलाई लिइन्छ । यूएनले विभिन्न मिसन र समयमा मृत्यु भएका मितिहरूमा मृत्यु भएका शान्ति सैनिकहरूलाई मरणोपरान्त अवार्ड प्रदान गरेको हो ।

नेपाली सेनाका युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले चारै शान्ति सैनिकका परिवारका सदस्यलाई अवार्ड प्रदान गरेका हुन्। नेपाली सेनाका अनुसार अवार्ड पाउनेमा थिरप्रसाद गौतम, दीपेन्द्र वस्ती, अनिल गुरुङ र पशुपति कार्की छन् ।

स्पेसल गार्ड युनिट दोस्रो डफ्फा लिबियाका काम गर्दा जमदार गौतमको २०७७ साल वैशाख १८ मा ज्यान गएको थियो। प्युठ वस्तीको २०७८ साल मंसिर १९ मा हाई रेडिनेस गुल्म पाँचौ डफ्फा अनमिस मिसन दक्षिण सुडानमा काम गर्दा ज्यान गएको थियो।

यस्तै, स्वीक रियाक्सन फोर्स कम्पनी पहिलो डफ्फा मोनुस्को मिसन कङ्गोमा काम गर्दा अमल्दार गुरुङको २०७८ चैत २२ मा ज्यान गएको थियो । गुल्म कार्य हुद्दा कार्कीको २०७९ साल पुस ७ मा वीरदल गण नवौँ डफ्फा, अनमिस मिसन दक्षिण सुडानमा काम गर्दा ज्यान गएको थियो ।

साथै, सोमबारकै कार्यक्रममा गत वर्ष शान्ति सैनिकको रुपमा तैनाथ रही विश्व शान्ति स्थापनार्थ योगदान पुर्‍याएका सहसेनानी रुकेश नेपाली, सुबेदार नवराज गिरी र हुद्दा भुवन भुजेललाई समेत प्रधानसेनापतिद्वारा प्रदान गरिएको कदर पत्र हस्तान्तरण गरिएको थियो ।

नेपालले सन् १९५८ मा ५ जना नेपाली शान्ति सैनिकहरू युनाइटेड नेसन्स अब्जरभेसन ग्रुप इन लेबनान मिसनमा सैनिक पर्यवेक्षकको रुपमा खटिँदै शान्ति मिसनको यात्राको सुरुआत गरेको थियो । 

नेपाली शान्ति सैनिकहरूले विश्व शान्ति स्थापनार्थ ६ दशकभन्दा लामो अवधिदेखि निरन्तर सहभागिता जनाउँदै आएको छ । हालसम्म नेपाली सेनाले विश्व शान्तिको लागि विभिन्न ४४ वटा मिसनमा नेपाली सेनाका १ लाख ५१ हजार ४५१ शान्ति सैनिकहरू योगदान गरिसकेका छन् । त्यो क्रममा ७३ जना नेपाली सैनिकको ज्यान गएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १९:२९
Weather Update