
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्।
प्रचण्डले सरकारलाई समर्थन दिएर बाहिर रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई सरकारमा सामेल गराउने गरी मन्त्रिपरिषद्मा हेरफेर गर्न लागेका हुन्।
प्रधानमन्त्री प्रचण्डले नाउपालाई पनि सरकारमा सामेल गराउने तयारी गरेको उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन्।
'प्रधानमन्त्रीज्यूसँग कुराकानी भएको छ। उहाँले हामीलाई पनि समेटेर मन्त्रिपरिषद् हेरफेर गर्ने भन्नुभएको छ,' अध्यक्ष श्रेष्ठले भनिन्, 'प्रधानमन्त्रीले हामीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिने वचन दिनुभएको छ।'
हाल सो मन्त्रालयमा माओवादी केन्द्रका हितबहादुर तामाङ मन्त्री छन्। माओवादी स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर नाउपालाई सरकारमा समावेश गर्न लागेका हुन्।
नाउपामा रेमश चौधरी र रञ्जिता श्रेष्ठ समूहबीच विवाद छ। श्रेष्ठ पहिले वर्तमान सरकारको समर्थनमा छिन्। चौधरी भने विपक्षी गठबन्धनमा छन्।