
काठमाडौं— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिएको लामो समय भए पनि अझै मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।
लामो रस्साकस्सीपछि सोडारीले गत जेठ ३ गते प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरे पनि अझै सरकार विस्तार गर्न भने सकेका छैनन्।
सरकारको प्रमुख घटक मानिएको नेकपा एमालेले सरकार गठनको वातावरण अझै नबनेको बताइरहेको छ।
सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सोडारी नेतृत्वको प्रदेश सरकारमा आफूहरु सहभागी हुने वातवरण बन्न नसकेको बताएका हुन्।
‘हामी सरकारमा सहभागी हुने वातावरण बनेको छैन,’ उनले भने।
सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत दिएको एमालेले तत्काल सरकारमा भने नजाने निर्णय पहिले नै गरेको हो। एमालेले यो निर्णय परिवर्तन नगर्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।
सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा पेस गरेको नीति तथा कार्यक्रमप्रति भने आफूहरुको स्वामित्व रहेको बताउँदै नेता रावलले पत्रकार सम्मेलनमा भने, ‘अब बजेट कस्तो आउँछ त्यसका लागि दबाब बनाउँदैछौँ।’