News Griha :: न्यूजगृह
कोशीः प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णयबाट पछि हट्यो कांग्रेस 

काठमाडौं— यसअघि कोशी प्रदेश सभा बैठक बहिस्कार गर्दै आइरहेको नेपाली कांग्रेस आफ्नो निर्णयबाट पछि हटेको छ। 

कोशी प्रदेश सरकारविरुद्ध पूर्व मुख्यमन्त्री कांग्रेसका केदार कार्कीले दायर गरेको रिट सर्वोच्चमा विचाराधीन रहेको छ। 

कोशी प्रदेशसम्बन्धी विवादको रिट सर्वोच्चमा अन्तिम निर्णय नआएसम्म प्रदेश सभा बैठकमा सहभागि नहुने निर्णयबाट कांग्रेस पछि हटेको हो। 

आज बसेको कोशी कांग्रेस संसदीय दलको बैठकले सो निर्णय गरेको कांग्रेस संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए। 

अदालतमा विचाराधीन मुद्दालाई थाती राख्दै संसदीय पद्धत्ती र प्रणालीबाट नै समस्याको समाधान खोज्ने र जनताका आवाजहरु मुखरित गर्र्ने निष्कर्ष निकाल्दै बैठकमा सहभागी हुने निर्णय गरेको बताइएको छ। 

‘अदालती प्रक्रियाबाट उक्त मुद्दा टुंग्याउन अनिश्चित समय लाग्ने देखिएको तर यस प्रदेशमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम एवं बजेट पनि प्रस्तुत गर्ने समय सीमालाई मध्यनजर गरि दलको धारणा प्रस्तुत गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘अदालतमा विचाराधीन मुद्दामा दलले प्रस्तुत गर्दै आएको धारणा र दृष्टिकोणलाई कानुनी आधारमा पुष्टि गर्ने दृढ संकल्पका साथ संसदीय पद्धत्ती र प्रणालीबाट नै समस्याको समाधान खोज्ने र जनताका आवाजहरु मुखरित गर्ने निष्कर्ष निकाल्दै प्रदेश सभा बैठकमा सहभागी हुने निर्णय गर्दछ।’ 


 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १४:५५
Weather Update